लेखराज भट्टको युद्ध स्मरण: कतिपय नचिताएको घटना भए, सम्झिँदा चसक्क मन दुख्छ

  शनिबार १५, भदौ २०८१ ०७:२०

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी युद्धकालका केही घटना सम्झिँदा अहिले पनि मन दुख्ने गरेको बताएका छन् । द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमाओवादी नेता समेत रहेका भट्टले युद्वको क्रममा कतिपय चिताउँदै नचिताएको घटनाहरू भएको स्मरण गरे ।

उनले भने, ‘अहिले हामी शान्ति प्रक्रियामा आएर यहाँसम्म आइसकेका छौं । हिजो मात्रै टीआरसी विधेयक प्रमाणीकरण भएको छ तर, अझै हामीले न्याय दिन सकेका छैनौं । पीडित परिवारलाई सम्झिँदा कहिलेकाहिँ चसक्क दुख्छ, जुन चिजको लागि लडाइँ लडियो, त्यहाँ अन्याय भएको देख्दा मन दुख्छ ।’

उनले युद्धको क्रममा माओवादीले पूर्वप्रधानमन्त्री देउवालाई लक्षित गरेर प्रहार नगरेको समेत बताए । उनले भने, ‘उहाँमाथि आक्रमण थिएन, पुलिसको गाडी आयो भनेपछि हानेका थियौं । तर, पछि उहाँको गाडी पर्‍यो भनेपछि आत्मालोचना गर्दै गल्ती भएको छ, भनेर विज्ञप्ति पनि आएको थियो त्यसबेला । कहिलेकाहिँ सूचनाहरू सही आउँदैन ।’

उनले टीआरसी विधेयक टुंगोमा पुर्‍याउन भूमिका खेलेकोप्रति प्रधानमन्त्री ओली, देउवा र माओवादी अध्यक्ष प्रचण्डप्रति आभार व्यक्त गरे ।

clock शनिबार १५, भदौ २०८१ ०७:२०

प्रतिक्रिया