आत्मसमर्पण गर्ने टोपबहादुरको तयारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेसँगै एमाले नेता रायमाझीले आत्मसमर्पणको तयारी थालेको एमाले उच्च स्रोतले बताएको छ ।
प्रहरीलाई झुकाएर बच्न सफल रायमाझी भैरहवा हुँदै भारतको गोरखपुर पुगेका छन् । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भए पनि टोपबहादुर भने निर्बाध रूपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । "भारतमा रहेका उनले आज अथवा भोलि बिहान सम्ममा आत्मसमर्पण गर्ने तयारीमा हुनुहुन्छ" एमाले उच्च स्रोतले भन्यो ।
शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँड र उनका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् ।
रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । उनको नाममा डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेको छ । बाबुको सहयोग बिना सन्दीपले यति ठूलो रकम हात पार्न नसक्ने निश्चित नै रहेको प्रहरी स्रोतको दाबी छ ।
अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया