मनसुनजन्य विपद् : दुई महिनामा १६७ जनाको मृत्यु, ५० बेपत्ता

  बिहिबार २४, साउन २०८१ ०६:५८

काठमाडौं । मनसुनजन्य विपद्का घटनामा परी पछिल्लो करिब दुई महिनाको अवधिमा नेपालमा १६७ जनाले ज्यान गुमाएका छन् । २०८१ जेठ २८ देखि साउन २३ गते दिउँसोसम्मको अवधिमा उनीहरूले बाढी, पहिरो, चट्याङ लगायतका मनसुनजन्य विपद्का घटनामा परी ज्यान गुमाएका हुन् । 

नेपाल प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनामा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेशमा ६, बागमतीमा ३०, गण्डकीमा ५२, लुम्बिनीमा ३३, कर्णालीमा आठ, र सुदूरपश्चिम प्रदेशमा १० जनाको निधन भएको छ ।

काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेशमा १०, बागमतीमा १९, गण्डकीमा ४४, लुम्बिनीमा १३, कर्णालीमा ५१ र सुदूरपश्चिममा १४ गरी १९९ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशीमा दुईजना, बागमतीमा ४२, गण्डकीमा चार, कर्णालीमा एक र सुदूरपश्चिममा एक गरी ५० जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गत जेठ २८ गतेयता आएको बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २७२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बडिगाड पहिरो : नौ जनाको निधन, तीन बेपत्ता
बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको बुधबार दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उहाँसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी अझै तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहनुभएको छ ।

बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् । आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ । यसअघि मंगलबार आठ जनाको मृत्यु भइसकेको छ ।

पृथ्वी राजमार्ग एकतर्फी खुला
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

राजमार्ग दुईतर्फी सडक खुल्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । बुधबार बिहान करिब ७ बजेतिर ठूला ढुंगा सहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउन चारवटा लोडर र एक्सकाभेटर प्रयोग गरिएको थियो ।

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अविरल वर्षासँगै मंगलबार राति पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत(जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

clock बिहिबार २४, साउन २०८१ ०६:५८

प्रतिक्रिया