नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

  शुक्रबार १८, साउन २०८१ ०८:१०

काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ । 

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा। सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो । 

 कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो । आयोगका सदस्यसचिव काप्रीले भन्नुभयो, “धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ । नेपालमा पनि सोही व्यवस्था लागु गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।”

केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो । सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाइएको काप्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् ।

“तर तीनवर्षे नर्सिङ पढेपछि रोजगारीमा कुन हैसियतमा जाने रु यसलाई लोक सेवा आयोगले मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ,” काप्रीले भन्नुभयो, “नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्डले यी सबै विषयलाई स्पष्ट पार्ने छ । त्यसपछि आयोगको बैठकले पारित गरेपछि मात्रै कार्यान्वयन चरणमा जान्छ ।” अहिले माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ । प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ ९बिएन० अध्ययन गर्ने बाटो खुल्छ । 

त्यसबाहेक कक्षा १२ मा विज्ञान विषय पढेकाले बिएस्सी नर्सिङ पढ्न पाउँछन् । एसइईपछि दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्था गर्दा विद्यार्थीका लागि अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने विश्वास आयोगले लिएको छ । 

पछिल्लो समय मुलुकमा नर्सिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढे पनि रोजगारीको अवस्था भने चित्तबुझ्दो छैन । नेपालमा वार्षिक चार हजार नर्स रोजगारी बजारमा जाने गरेका छन् । हाल नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको छ । 

सम्बन्धन दिन निर्देशन 

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो । 

चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० लगायत सरोकारवाला निकायका अधिकारी बैठकमा सहभागी हुनुभएको थियो । 

मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिने सहमति भए पनि समितिले लिखित निर्देशन भने दिएको छैन । यस विषयमा थप निर्णय गरिने समितिले जनाएको छ । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।    

clock शुक्रबार १८, साउन २०८१ ०८:१०

प्रतिक्रिया