धनगढीमा अस्पतालको नाममा चर्च चलाउने लेट मेइन र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज

  मङ्गलबार १५, साउन २०८१ ०६:४३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले गराएको व्यवसाय दर्ता खारेजी गरिएको छ। सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको हो।

लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको हो। यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको हो।

धनगढी(५ का प्रभाकर भण्डारीबाट साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर लेट मेइन धनगढी प्रालिले चर्च निर्माण गरेको हो। सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको थियो। त्यसपछि नेपाल लाइफ वर्ड मिसन नामक मसिनरीले सो भवनमा धनगढी मण्डली चलाउन थालेको हो।

वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल वर्ड मिसनलाई लेखेको पत्रमा स्थानीयको गुनासो आएपछि स्थालगत अध्ययन गर्दा व्यवसाय दर्ता प्रमाण पत्रमा उल्लेख गरिएभन्दा फरक ढङ्गले कार्य गरिरेहको पाइएकाले दुबै संस्थाको व्यवसाय दर्ता खारेज गरिएको जनाएको छ।

नगरपालिकाले साउन १० गते विस्तृत अध्ययन समिति गठन गरेर साउन १३ गते दर्ता गर्दा उल्लेख भएका उद्देश्यभन्दा फरक ढङ्गले काम गरिरहेको पाइएकाले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गर्ने निर्णय गरेको थियो। यो सँगै व्यवसाय दर्ता गरेर धर्मान्तरणमा संलग्न रहेको लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनको व्यवसायको इजाजत खारेज भएको हो।

clock मङ्गलबार १५, साउन २०८१ ०६:४३

प्रतिक्रिया