देशभर मनसुनी वायुको प्रभावः अधिकांश प्रदेशमा बिहानैदेखि वर्षा

  आइतबार १३, साउन २०८१ ०६:४७

काठमाडौं । आइतवार बिहान अधिकांश प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेश वर्षा भइरहेको हो ।  

‘देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको पाइएको छ ।  आइतवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

‘कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा भनिएको छ । 

यस्तै राति पनि देशभर साधारणतया बदली नै रहने महाशाखाको अनुमान छ ।

‘लुम्बिनी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ, ‘कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।’

clock आइतबार १३, साउन २०८१ ०६:४७

प्रतिक्रिया