दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नुहुँदैनः पूर्वमुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नु नहुने बताएका छन् ।
सुरक्षा सल्लाहकार र सचिव पक्रिँदा सम्म तीव्र गतिमा देखिएको प्रहरी किन कमजोर भयो ? चासोको विषय भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकार पछि हट्नु नहुने बताए । उनले भने “नक्कली शरणार्थीका प्रकरणमा कुनै कर्मचारी वा नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता अपराधीलाई निस्तेज तुल्याउनुपर्छ ।”
नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहनुभएका पूर्वमुख्यमन्त्री भट्टले अगाडि भने– ‘अर्कोतर्फ सुशासन दिने र भ्रष्टाचार नियन्त्रणका चर्का कुरा गर्ने नयाँ पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरण उठ्नासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारलाई दबाबमा राख्न खोजेको देखिन्छ ।’
तर, सरकारको नेतृत्व दबाब झेल्न सक्ने, स्वतन्त्र निर्णय लिनसक्ने क्षमता राख्ने भएकाले आम नागरिक चासोका साथ हेरिरहेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री भट्टले पहिलो कार्यकालको सरकारले ल्याएको चालु आर्थिक वर्षका कार्यक्रम तथा योजनाहरू कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि सुदूरपश्चिम सरकारले पूर्णता नपाएकोप्रति दुःख व्यक्त गर्दै सत्ता साझेदार सबै पार्टी जिम्मेवार बन्नुपर्ने बताए ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया