संसद् बैठकमा सांसद अमरेश सिंहले किन खोले लुगा ?

  सोमबार २५, बैशाख २०८० १३:५१

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन्। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर, सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाए।

उनको व्यवहारबाट रुष्ट बनेका सभामुखले सिंहलाई त्यसो नगर्न चेतावनी दिए। ‘माननीय अमरेशकुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस्। अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भने। त्यसपछि सिंहले धमाधम कपडा लगाएर बैठकस्थलबाट बाहिरिए। 

सिंहमाथि कस्तो कारबाही हुन्छ ? 

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ६ को नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै, नियम ३१ को उपनियम (१) मा नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ व्यवस्था छ। सभामुखको त्यस्तो आदेश पाएपछि अभद्र व्यवहार गर्ने सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्ने र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।

उपनियम (२) मा उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने व्यवस्था छ। साथै बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । 

उपनियम (३) मा भनिएको छ, ‘उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन। यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ।’ 

clock सोमबार २५, बैशाख २०८० १३:५१

प्रतिक्रिया