सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने

  मङ्गलबार ०१, साउन २०८१ ११:२१

धनगढी । सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो।

तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन।

असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफलसमेत भएन। सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन।

एमालेले समर्थन फिर्ता लिएपछि, उसले आफैंले ल्याएको बजेट पास नहुने भएको हो। अहिले एमाले बजेट पास हुन नदिने पक्षमा छ। सुदूरपश्चिममा जेठको २८ गतेमात्रै मन्त्रिमण्डल विस्तार भएको थियो। असार २८ गते आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले त्यसको तीन दिनपछि बजेट प्रस्तुत गरेका थिए।

अहिले समाजवादी र माओवादीलाई असारको १ गते आएको बजेटमाथि तत्काल छलफल सुरु नगरेकोमा पछुतो भइरहेको छ। कांग्रेस झुक्याउन बजेटमाथिको छलफल नचलाएको सोडारी नेतृत्वको सरकार अहिले भने बजेट पास नहुने भएपछि तनावमा छ।

साउन १ गतेदेखि प्रदेश सरकारले न खर्च गर्न पाउछ, न कर संकलन गर्न नै। ‘बजेट भ्याकुमको अवस्था आयो, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तुरुन्त राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो सहज पार्नुपर्छ’ नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने।

उनले, बजेट विहीनताको अवस्था आउनुभन्दा प्रदेशको आर्थिक गतिविधि अघि बढाउन वर्तमान मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए। तर मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भने सकेसम्म अध्यादेशबाट बजेट ल्याउने, नसके पेस्की बजेट ल्याएर काम चलाउने र अल्पमतमा परेको अन्तिम दिनसम्म मुख्यमन्त्री रहिरहने दाउमा देखिएका छन।

५३ सदस्यीय प्रदेशसभामा सरकारले विश्वासको मत प्राप्त गर्न २७ मतको आवश्यक पर्छ। यता अर्को सरकार गठनका लागि कांग्रेस र एमालेको मत पर्याप्त छ। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन्। यसबीचमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि अनौपचारिक छलफल भइरहेको छ।

clock मङ्गलबार ०१, साउन २०८१ ११:२१

प्रतिक्रिया