भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीले भने- ट्रेलर देखाएका छौं, फिल्म बाँकी छ

  शनिबार २३, बैशाख २०८० १५:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका हुन्।

उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए। उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए। उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय, श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो सुरुवात मात्रै हो। यो ट्रेलर मात्रै हो। हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ। त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्। धेरै चीजहरू हुन सक्छ यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ। मलगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौं। धेरै थिएनौं। त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छेमध्येकाहरूले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालत हेर त भन्थे। माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामकरण भएको छ। हामी फेरि एक पटक गर्जियौं भने बहुमतमा हामी पुग्छौं।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्ल्ेख गर्दै फेरि एक पटक गर्जिन सके बहुमतमा पुग्ने बताए।

clock शनिबार २३, बैशाख २०८० १५:४८

प्रतिक्रिया