शून्य नजिता ल्याउने १७ विद्यालयलाई आफ्नै पारिश्रमिकबाट १० लाखको शैक्षिक सामग्री दिँदै नगरप्रमुख हमाल

  शुक्रबार २२, बैशाख २०८० १५:१२

धनगढी । आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा १० लाख बराबरको शैक्षिक सामग्री दिइने भएको छ। शुक्रवार विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपाल हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउने बताएका हुन्।

नगरप्रमुख हमालले एक वर्षमा पाउने सेवा सुविधाको रकम अपुग भए आफ्नो व्यक्तिगत तर्फबाट भए पनि रकम थप गरेर विद्यालयहरूलाई १० लाख मूल्यका शैक्षिक सामग्री १७ वटै विद्यालयहरूलाई उपलब्ध गराउने बताए। विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको बताएपछि नगरप्रमुख हमालले कापी किताब, कलम, मसी लगायत विद्यार्थीलाई पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गरेर प्रदान गर्ने बताए।

उनले विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताउँदै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमको सहयोग गर्ने बताए। धनगढीमा आयोजित १७ विद्यालयसँग गरिएको अन्तरक्रिया कार्यक्रममा आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने भएको छ।

नगरप्रमुख हमालले शिक्षा क्षेत्रमा राम्रो नतिजा हासिल गर्न परामर्शदाताको सहयोग लिने र शिक्षाका लागि बहुपक्षीय साझेदारी गर्ने योजना रहेको बताए। ‘सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन उपमहानगरले काम गर्छ। यो वर्षबाट विद्यालयको अवस्था सुधार गर्न सबैले लाग्नुपर्छ,’ उनले भने, ‘उपमहानगरको समग्र शैक्षिक अवस्था सुधारका लागि हामीले विज्ञको सहयोग लिएर काम गर्ने योजना बनाएका छौँ।’

कार्यक्रममा नगरउपप्रमुख कन्दकलाकुमारी रानाले विद्यालयहरूको गुणस्तर वृद्धि गर्न अनुगमन र सहयोग सँगसँगै अगाडि बढाउने बताए। उनले विद्यालयको अनुगमन गर्न आफैं खटिने र धनगढीका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न उपमहानगरले काम गर्ने बताए।

कार्यक्रममा १७ विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूले सिकाइको अवस्था सुधार गर्न शैक्षिक सामग्री नै अपुग हुने बताएपछि भर्ना शैक्षिक सत्रको सुरुमै १७ वटै सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्ने र नतिजा राम्रो ल्याउन शिक्षक र व्यवस्थापन समितिले पनि उपमहानगरका योजना कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिइएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खाती, डिभिजनल इन्जिनियर दिजराज भट्ट, प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्की, पन्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाको सहभागिता थियो।

clock शुक्रबार २२, बैशाख २०८० १५:१२

प्रतिक्रिया