कर्णाली सरकारमा सहभागी नगराइएकोप्रति अध्यक्ष नेपालको असन्तुष्टी
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असन्तुष्टी जनाएका छन्। अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताउँदै माओवादीको अहिलेको व्यवहारको भर्त्सना गरे।
‘कर्णालीको सरकार निर्माण गर्दा पूरै हामीलाई पूरै उपेक्षा गरिएको छ, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले एकलौटी गरेको छ, त्यो हामीलाई स्वीकार्य छैन्,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘यो कार्यको हामी भत्र्सना गर्दछौं।’
उनले आफ्नो पार्टी नेपालको राजनीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै दम्भ र घमण्ड नदेखाउन माओवादी केन्द्रलाई चेतावनी दिए। ‘दम्भ र घमण्डले ओलीलाई रावण बनायो र हामीले लोप्पा खुवायौं,’ उनले भने, ‘फेरि अर्को रामण जन्माउने काम नहोस् भन्ने हामी चाहन्छौं।’
माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा नेपालले कर्णालीकै जस्तो अवस्था रहे पार्टी एकता त के समाजवादी मोर्चा निर्माण पनि संभव नरहेको बताए। ‘कर्णालीमा हामीलाई पूरै बेवास्ता गरिएको छ, बजेट निर्माणमा हाम्रो सहभागीता छैन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामी माओवादीसँग पार्टी एकताको त के मोर्चा बनाउने विषयले पनि हावा खान्छ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले पाएको महत्वपूर्ण मन्त्रालयको बजेट घटाइएको प्रति पनि असन्तुष्टी जनाए। ‘विकासका दृष्टिले महत्वपूर्ण मानिएको भौतिक मन्त्रालय हाम्रो भागमा छ, त्यहीँ मन्त्रालयको बजेट कटौति गरिएको छ,’ उनले भने, ‘थोरैथोरै घटाउनु त ठिकै हो, ५० अर्ब बढी बजेट घटाइएको छ, अनि काम कहाँबाट गर्न सकिन्छ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले राष्ट्रिय परिचयपत्र वितरण र गरिव पहिचानपत्र अभियानकै रुपमा वितरण गर्नुपर्ने बताए। ‘राष्ट्रिय परिचयपत्रसँगै गरिव पहिचानपत्र वितरण गर्दा आवश्यकताका आधारमा बजेट छुट्याउन सकिन्छ, गरिवीको रेखामुनि रहेकाहरुका लागि लक्षित कार्यक्रम ल्याउन सकिन्छ,’ उनले भने, ‘परिचयपत्र वितरणलाई सरकारले अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ।’ उनले युवाहरुका लागि रोजगार सुचना बैंकको आवश्यकता औल्याए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया