विशेषज्ञ वडा क्लिनिकबाट धनगढीका गाउँघरमै रोगको निदान हुँदै

  शनिबार १२, जेठ २०८१ १०:१३

धनगढी । कैलालीको धनगढीमा सञ्चालित विशेषज्ञ वडा क्लिनिक र क्यान्सर स्क्रिनिङ शिविरले गाउँघरमै रोगको निदान र उपचार गर्न सहज भएको छ। हरेक महिना हुने विशेषज्ञ वडा क्लिनिकले गाउँघरमै सेवाग्राहीले उपचार गर्ने अवसर पाएका छन्।

धनगढी उपमहानगरपालिकाले समय–समयमा क्यान्सर स्क्रिनिङ शिविरसमेत राख्ने गरेको छ। क्यान्सर स्क्रिनिङ शिविरमा सहभागि सेवाग्राहीले धनगढी उपमहानगरले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर सहज उपचारको व्यवस्था मिलाएको बताएका छन्। घाउँघरमै निःशुल्क विभिन्न स्वास्थ्य सेवा प्रदान गरिँदा रोग लुकाएर बस्नुपर्ने अवस्था हटेको धनगढी–१२ की आइती राईले बताइन्।

धनगढी उपमहानगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, चितवनको आयोजनामा धनगढीमा शुक्रवार र शनिवार क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने भएको हो। धनगढी–१२ जुगेडामा शुक्रवार र वडा नम्बर ११ घोड्सुवामा शनिवार शिविर लाग्नेछ। शुक्रवार जुगेडामा लागेको क्यान्सर स्क्रिनिङ शिविरमा सर्वसाधारणसँगै महिला स्वास्थ्य स्वयंसेविका नन्दी खड्का पनि भेटिइन्। खड्काले घर आँगनमै स्वास्थ्य चेक जाँच गर्ने सेवा पाउँदा महिलाहरू खुसी रहेको बताएकी छिन्।

यस्तै, शिविरमा आमालाई समेत लिएर आएकी स्थानीय सत्यदेवी स्नेहीले उपमहानगरपालिकाले स्वास्थ्य सेवामा ध्यान दिँदा रोगको निदान तथा उपचारमा सहयोग मिलेको टिप्पणी गरेकी छिन्। ‘वडा क्लिनिक र स्क्रिनिङ शिविरले पैसाको अभावले चेकजाँच गर्न नसक्नेहरूलाई सहयोग पुगेको छ’, उनले भनिन्, ‘धनगढीमा स्वास्थलाई प्राथमिकता राख्दा सबैलाई उपचार पाउन सहज भएको छ।’

क्यान्सर स्क्रिनिङ शिविरमा भेटिएकी जुगेडाकै लक्ष्मी जोशीले पनि हरेक महिना लाग्ने विशेषज्ञ स्वास्थ्य शिविर र विभिन्न समयमा लाग्ने क्यान्सर स्क्रिनिङ शिविरले पैसाको अभावमा चेक जाँच गर्नसम्म नसक्नेलाई ठूलो सहयोग पुगेको बताइन्। स्वास्थ उपचारको व्यवस्था सहज बनाएकोमा स्थानीय भगवती रोकायाले खुसी व्यक्त गरेकी छिन्।

शुक्रवार र शनिवार धनगढीको दुई ठाउँमा चल्ने क्यान्सर स्क्रिनिङ शिविरका लागि भरतपुर क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको ११ जनाको टीम धनगढी आइपुगेको छ। चिकित्सकको टोलीमा मेडिकल अंकोलोजी, किमोथेरापी विशेषज्ञ डाक्टर गुरुशरण साह, अंकोलोजी विशेषज्ञ डाक्टर साजन थापा, अस्पतालका उपनिर्देशक डाक्टर उमेश नेपाल, पिसाब सम्बन्धी रोग विषेशज्ञ डाक्टर निश्चल गौतम, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर भुवनराज पाण्डे र भिडियो एक्सरे विशेषज्ञ डाक्टर आशुतोष शाह, किमो पेइन म्यनजमन्ट विशेषज्ञ डाक्टर योगेश रेग्मी, वरिष्ठ अस्पताल प्रशाशक गिरिनारायण महतो र रमेश शर्मा पौडेलसहितको टोली धनगढी आइपुगेको हो।

चिकित्सकको टोलीमा क्यान्सर स्क्रिनिङ विशेषज्ञ नर्सिङ अधिकृत सहितको टोलीले पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षणसहित निःशुल्क औषधी समेत दिनेछ। स्क्रिनिङ शिविरमा रोगको निदान गरिने र थप उपचार आवश्यक परेको अवस्थामा भरतपुर क्यान्सर अस्पतालमा उपचारको सहज व्यवस्थासमेत मिलाइने अंकोलोजी विषेशज्ञ एवं अस्पतालका उपनिर्देशक डाक्टर उमेश नेपालले बताए। धनगढीमा शुक्रवार वडा नम्बर १२ जुगेडा र शनिवार वडा नम्बर ११ को घोड्सुवा सहरी स्वास्थ्य केन्द्रमा क्यान्सर स्क्रिनिङ शिविर लाग्ने उपमहानगरपालिकाले जनाएको छ।

clock शनिबार १२, जेठ २०८१ १०:१३

प्रतिक्रिया