लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीले गरे दाबी पेस
काठमाडौँ । डिल्ली चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीवार आफ्नो दाबी पेश गरेका हुन्।
उनको समर्थनमा ८ दलका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्।
चौधरीलाई कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ।
एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो।
प्रतिक्रिया