सुदूरपश्चिममा पछिल्ला साता कोरोना संक्रमण बढ्दै

  शुक्रबार ०९, चैत २०८० १०:१३

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

यसअघि गत १२ देखि ३० फागुनसम्मको १८ दिन २६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन ।

कोरोना भाइरसको संक्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।

‘देशका अरु नाकामा यो रोगका संक्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्,’ उनले भने । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।

धनगढीका स्थानीयवासी लेखराज ओझाले भने, ‘कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगीनजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँ नै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।’

पछिल्लो सातामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शंकास्पद ६ सय २० को एन्टिजेन विधिबाट नमुना जाँच गरिएको छ । ‘सिकिस्त अवस्थाका कोरोना संक्रमित फेला परेका छैनन्,’ अहेब साउदले भने, ‘कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।’

clock शुक्रबार ०९, चैत २०८० १०:१३

प्रतिक्रिया