अस्वाभाविक गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरू बिच गठबन्धन बन्यो : मन्त्री भण्डारी

  मङ्गलबार २९, फागुन २०८० १९:०२

धनगढी । नेकपा एमालेका नेता एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अस्वाभाविक गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन निर्माण गरिएको बताएका छन् ।

कैलालीको धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नीति र विचारमा समस्या भएको गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरूको गठबन्धन तयार भएको बताए ।

उनले संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने दाइत्व नयाँ गठबन्धनमा आएको बताए ।

‘यति बेला एउटा गठबन्धन भत्किएको छ । त्यो अस्वाभाविक गठबन्धन थियो । नीतिमा समस्या रहेको , बिचारमा समस्या रहेको निश्चित केही स्वार्थमा केन्द्रित भएको गठबन्धन बिदा भएर एउटा परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन कायम भएको छ’ उनले भने ‘संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने छ । ’

अघिल्लो सरकारले जनजीविकाका सवारमा धेरै काम गर्न नसकेको उनले बताए । अहिले नयाँ गठबन्धनले निश्चित समय भित्र अहिलेका दाइत्वहरू पुरा गर्नुपर्ने अवस्था रहेको र यसलाई असफल हुने छुट नभएको पनि उनको भनाइ थियो । मन्त्री भण्डारीले आन्तरिक राजश्व सङ्कलन कम भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत पाउने समेत उनले बताए ।

‘सरकारले त्यसपछि प्राथमिकताहरू कार्यसूचीमा राखेर अगाडी लैजानु पर्छ’, उनले भने, ‘म उद्योग खानी र स्रोतसाधनको पहिचानमा आफ्नो ध्यान केन्द्रित गर्छु ।’

उनले आफूले अघिल्लो पटक अघि सारेका काम त्यही रहेको भन्दै यस अघि कुनै काम नभएको बताए । ‘सुख्खा बन्दरगाह जहाँ छोडेको थिए त्यही छ । कुनै प्रगति भएको छैन । छेला औद्योगिक क्षेत्र पनि जहाँ छोडेको थिए त्यही छ । कैलालीको हरैयामा निर्माण गर्ने भनिएको सेजको कार्यक्रम पनि अगाडी बढेको छैन’ उनले भने, ‘गत वर्ष १६ प्रतिशत भएको पुजिगत खर्च अहिले ५ प्रतिशतमा सीमित छ ।’

सुदूरपश्चिम प्रदेशको उत्पादनलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू कार्यविधि बन्न नसक्दा रोकिएको मन्त्री भण्डारीको भनाइ थियो ।

‘सुदूरपश्चिमका थुप्रै सम्भावना रहेका छन् । खानीहरू छन् चाँडै अध्ययन गरेर त्यसलाई अगाडी बढाउँछु’ उनले भने, ‘लगानीकर्ताहरूको लगानी सुनिश्चितका लागि पनि समस्या छ । त्यसको समाधानको लागि स्पष्ट नीति ल्याउनु पर्छ ।’

सरकारले चाँडै लगानी सम्मेलन मार्फत लगानीको वातावरण सृजना गर्ने र लगानी सम्मेलन सम्म केही महत्त्वपूर्ण कामहरू सम्पन्न गर्ने भन्दै लगानीको सुरक्षाको लागि स्पष्ट नीति निर्माण गर्ने र उद्योग मैत्री वातावरण निर्माण गर्ने उनले बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिने उनले बताए । निजी क्षेत्रलाई सरकार भएको अनुभूति गराउने उनले दाबी गरे ।

उनले अघिल्लो पटक लेखराज भट्ट मन्त्री हुँदा विनियोजन गरेको बजेट पनि कार्यान्वयन नभएको बताए । फरक प्रसङ्गमा उनले नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा सहभागी हुन र सरकारलाई साथ दिन आग्रह गरिएको जानकारी दिए ।

clock मङ्गलबार २९, फागुन २०८० १९:०२

प्रतिक्रिया