सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री हटाइए, मुख्यमन्त्री शाह अल्पमतमा

  बिहिबार २४, फागुन २०८० १०:०२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् । शाही कांग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री थिए ।

मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघिकै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सरकारको साथ छाडेको त छैन तर कांग्रेस र नागरिक उन्मुक्ति पार्टी मात्रले सरकारलाई बहुमत पुग्दैन । 

कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् । सरकारको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यससँगै सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया जटिलतातर्फ मोडिएको छ । 

नागरिक उन्मुक्तिले अझै कुनै निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्तिले सघाउने निर्णय नगर्दासम्म नयाँ गठबन्धनको सरकार गठन हुने अवस्था छैन भने एकीकृत समाजवादीले साथ छोडिसकेको अवस्थामा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनको पनि बहुमत पुग्ने अवस्था छैन ।

clock बिहिबार २४, फागुन २०८० १०:०२

प्रतिक्रिया