आज देशका यी स्थानमा वर्षाको सम्भावना

  आइतबार २०, फागुन २०८० ०८:०१

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आज बिहान देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मैसम सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । 

साथै, बाँकी भू–भागको थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

आइतबार राती देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज देशका धेरै स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । शनिबार सबैभन्दा धेरै जुम्लामा १६ दशमलव १ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, डडेल्धुरामा ११ दशमलब ६ र धनगढीमा १० मिलिमिटर वर्षा भएको छ । सोमबारबाट भने क्रमिकरूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 

clock आइतबार २०, फागुन २०८० ०८:०१

प्रतिक्रिया