सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयबाट सवारी मर्मत र इन्धनको नाममा झन्डै एक करोड खर्च

  शनिबार १९, फागुन २०८० १३:४९

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालले एक वर्षको अवधिमा सवारी मर्मतमा ३५ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ। मुख्यमन्त्रीसहित कार्यालयले कर्मचारीको सवारी मर्मतमा ३५ लाख २८ हजार सात सय ६९ रुपैयाँ खर्च गरेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा ४१ लाख सवारी मर्मतमा विनियोजन गरिएकोमा अब पाँच लाख ७१ हजार २ सय ३० रुपैयाँ मात्र बाँकी छ। साथै पदाधिकारीका लागि इन्धनमा १६ लाख २६ हजार विनियोजन गरिएकोमा १३ लाख ८९ हजार ६४० रुपैयाँ खर्च गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीका लागि इन्धनमा ३४ लाख तीन हजार बजेट विनियोजन गरिएकोमा पाँच लाख १३ हजार मात्र बाँकी छ। कार्यालयले अन्य प्रयोजनमा विनियोजन गरिएको तीन लाख ३३ हजारमा झन्डै २ लाख खर्च भएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मेसिनरी औजार मर्मत सम्भार तथा सञ्चालनमासमेत पाँच लाख २२ हजार खर्च गरेको छ। गत आर्थिक वर्षमा मेसिनरी, औजार मर्मत सम्भार तथा सञ्चालनका लागि ७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएकोमा २ लाख १७ हजार मात्र बाँकी छ।

मेसिनरी तथा औजारमा थप ६२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ४५ लाख २६ हजार रुपैयाँ खर्च भएको छ। कार्यालयले गत आर्थिक वर्षमा ९३ लाख २६ हजार नौ सय ८४ रुपैयाँ इन्धन, मेसिनरी र सवारी मर्मतमा खर्च गरेको प्राप्त विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०८०/८१ मा सवारी साधन मर्मत शीर्षकमा ३७ लाख बजेट विनियोजन गरिएको छ। माघ महिनासम्म सवारी मर्मतमा १८ लाख ६५ हजार खर्च भएको छ। पदाधिकारीको इन्धनका लागि १८ लाख ६० हजार विनियोजन गरिएको छ। माघ महिनासम्म सात लाख ९८ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षमा पदाधिकारीको इन्धनका लागि विनियोजन गरिएको बजेटमा १० लाख ६१ हजार रुपैयाँ बाँकी छ। कर्मचारीले चालु आर्थिक वर्षको माघसम्म १५ लाख चार हजार रुपैयाँ इन्धनको नाममा खर्च गरेका छन्। ती कर्मचारीका लागि २७ लाख इन्धन शिर्षकमा बजेट विनियोजन गरिएको छ।

मेसिनरी तथा औजार मर्मत सम्भार र सञ्चालनमा थप ८ लाख विनियोजन गरिएको छ। माघ महिनासम्म ४७ हजार खर्च भएको छ। मेसिनरी तथा औजारमा २६ लाख बजेट विनियोजन गरिएको छ। विनियोजन गरिएको बजेटमध्ये माघसम्म ११ लाख ९० हजार खर्च भइसकेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले चालु आर्थिक वर्षको माघ महिनासम्म ६१ लाख ५७ हजार ५७१ रुपैयाँ सवारी मर्मत, इन्धन र मेसिनरीको नाममा खर्च गरेको छ।

clock शनिबार १९, फागुन २०८० १३:४९

प्रतिक्रिया