साथी, एकछिन रोकिएर हेर
साथी,
तिमी किन यति अलमलिएको छौ?
किन मनमा यति धेरै चिन्ता बोकेर हिँड्छौ?
थकान, कमजोरी,
र भित्रै कताकता टुटेको महसुस
किन यति धेरै भइरहेको छ?
साथीहरूले “प्रगति गर्यो” भनेको सुन्दा
तिमी किन आफ्नो मन दुखाउँछौ?
हरेक यात्राको गति एउटै हुँदैन,
हरेक समयमा फूल फुल्नै पर्छ भन्ने पनि छैन।
त्यो रुख हेर त...
एउटै हाँगामा
हरियो काँचो फल पनि छ,
र पाकेर झर्ने तयारीमा पुगेको फल पनि..
समयले जसलाई जसरी चाहन्छ,
त्यसरी नै परिपक्व बनाउँछ।
तिमी किन ,..भोलिको डर र
हिजोको बोझले
आजको मन पिरोल्छौ?
के तिमीले सोचेको जस्तै
जिन्दगी कहिल्यै चलिरहन्छ र?
हिजोका दिन सम्झ त...,
त्यतिबेला तिमीले के के सोचेको थियौ,
आज उस्तै छौ र तिमी?
कति कुरा बदलिए,
कति कुरा आफैंले पनि थाहा नपाई
पछाडि छुटे।
भोलि के हुन्छ
कसैले जान्दैन, साथी
तर आज के गर्न सकिन्छ
त्यो चाहिँ
तिम्रो नै हातमा छ।
आजको दिनमा
जति सकिन्छ खुशी बन,
आफ्नो लागि पनि, अरूका लागि पनि
सानो मुस्कान,सानो प्रयास
कसैको दिन उज्यालो बनाउन काफी हुन्छ।
साथी,
तिमी कमजोर होइनौ,
थकित छौ,
र थकानलाई विश्राम चाहिन्छ,
आरोप होइन।
आजलाई आजकै जस्तो
स्वीकार गर्न सिक,
र जीवनलाई बिस्तारै आफ्नै गतिमा
हिँड्न देऊ।
प्रतिक्रिया