आजदेखि डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु

  मङ्गलबार ०१, फागुन २०८० २०:३३

डडेल्धुरा । आज (मंगलबार) देखि डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। 

बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कलेजमा कक्षा सञ्चालन सुरु भएको मेडिकल कलेजका डिन डाक्टर हेमनाथ जोशीले बताए। १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। मंगलबार भने तीन जना विद्यार्थी उपस्थित भएका थिए।

मेडिकल कलेज सञ्चालन आफैमा ठूलो विषय भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर सन्तोष गुप्ताले बताए। आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट उनले गरेका छन्। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने घोषणा गरेपछि पाँचवटा विषयको अध्यापन अनुमति मागिएको थियो। तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो।

एमबीबीएस पढाइ सुरु गर्न भने कम्तीमा पनि तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन सुरु भएको बताए।

१० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउनेछन्। ‘एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले भने, ‘तत्काल तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति भए हामी २०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ।’ 

विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो। तर, डडेल्धुरा अस्पताल अहिले एक सय शड्ढयाको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ। विशिष्ट सेवासहितको संघीय अस्पताल भए पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेको छ। डडेल्धुरासहित सुदूर पहाडका अस्पतालमा दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा समस्या छ।

clock मङ्गलबार ०१, फागुन २०८० २०:३३

प्रतिक्रिया