अत्तरिया दाेहाेरी प्रकरण : सरकारी वकिलले फाइल फर्काएपछि पक्राउ परेका सबै रिहा

  बिहिबार २५, माघ २०८० १४:४५

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, कञ्चनपुरले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई नै फाइल फिर्ता गर्नुका साथै पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएको थियो ।

सरकारी वकिलको निर्देशनपछि उनीहरु रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

प्रहरीले यो घटना अनुसन्धानका लागि प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षका प्रकाश ओली, गोदावरी–१ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ का ३८ वर्षीय रामबहादुर ऐरलाई पक्राउ गरेको थियो ।

२५ पुसको राति अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका श्याम देउवा त्यहाँ वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला देउवा त्यहाँबाट एक्लै हिँडेका थिए ।

तर भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा देउवा अर्धचेत अवस्थामा भेटिएका थिए ।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

देउवाको हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसहित ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो ।

यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली समेत कञ्चनपुर आएको थियो ।

clock बिहिबार २५, माघ २०८० १४:४५

प्रतिक्रिया