गेटाको सरस्वतीमा एसईई आइडलको २४औं अडिसन सम्पन्न

  शुक्रबार १९, माघ २०८० २१:०२

धनगढी । आज कैलालीको गोदावरी न.पा. मा प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २४ औं अडिसन सम्पन्न भएको छ । गोदावरी न.पा.को गेटामा अवस्थीत सरस्वती नमूना मा.वि.मा आज आइडलको २४औं अडिसन सम्पन्न हो ।

अडिसनमा ७ जनाले गायन र १० जनाले नृत्य गरि कूल १७ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुती पस्केका छन् । अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका नि:शुल्क रुपमा वितरण गरिएको थियो । अब आउँदो हप्ताबाट पहाडी जिल्लामा पनि अडिसन आयोजना हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार पहिलो चरणमा आउँदो साता अछामको साँफेबगरमा रहेको जनकल्याण मा.वि. र बाजुराको मार्तडीमा रहेको मालिका नमूना मा.वि. मा अडिसन आयोजना हुनेछन् । एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् ।

यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

clock शुक्रबार १९, माघ २०८० २१:०२

प्रतिक्रिया