आजबाट वडा तहमा कांग्रेस अभियान

  मङ्गलबार १६, माघ २०८० ०८:०८

काठमाण्डौँ । सांगठनिक सुदृढीकरणको लक्ष्यसहित मंगलबारबाट ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत ६५ जिल्लामा कांग्रेस वडा तहमा केन्द्रित हुने भएको छ । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित अभियान २६ माघसम्म सञ्चालन हुनेछ । 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १० हिमाली र दुई भूकम्प प्रभावित जिल्लाबाहेक ६५ जिल्लाका सबै वडामा एकसाथ अभियान सुरु हुन लागेको जानकारी दिए । अभियान नहुने हिमाली जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख छन् । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पनि अभियान हुनेछैन । अभियानका लागि कांग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि र त्यसबाहेक समन्वयका लागि केन्द्रबाट छुट्टै टोलीसमेत पठाएको छ ।

 ‘अभियानका लागि हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा अभियान राखिएको छैन । अभियान हुने जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ । अभियानलाई अझै प्रभावकारी बनाउन समुदायको बीचमा पुग्न र संवाद गर्न केन्द्रबाट छुट्टै टोली पनि पठाइएको छ,’ पौडेलले भने ।

clock मङ्गलबार १६, माघ २०८० ०८:०८

प्रतिक्रिया