धनगढी उपमहानगरमा एमालेद्वारा अनुगमन, कक्षा ८ को परिक्षाफलबारे ध्यानाकर्षण

  सोमबार ०४, बैशाख २०८० १७:३९

धनगढी । धनगढी उपमहानगरपालिकामा नेकपा (एमाले० को कैलाली जिल्ला कमिटीको टोलीले अनुगमन गरेको छ। आज (सोमवार) एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितको टिमले उपमहानगरको अनुगमन तथा मेयर, उपमेयरसंग छलफल गरेको हो।

उक्त छलफलमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। हिजोमात्र उपमहानगरले सार्वजनिक गरेको कक्षा ८ को वार्षिक परिक्षाको प्रारम्भिक प्रतिवेदनका सन्दर्भमा छलफल गरिएको जोशीले जानकारी दिए। 

उक्त प्रतिवेदनले कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएको देखाएको छ। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै  पनि  विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको हो।

सोही नतिजाको विषयमा एमाले कैलालीको ध्यानाकर्षण भएर छलफल गरिएको बताइएको छ। धनगढी उपमहानगरभित्र देखिएको यो न्यून नतिजाको जिम्मेवारी नगरपालिका र सम्बन्धित जिम्मेवार व्यक्तिहरुले लिनुपर्ने एमालेको जिकिर छ।

यस्तै उक्त नतिजा र शैक्षिक क्षेत्रको गम्भीर समीक्षा गरेर सुधारका लागि पहल गर्नुपर्ने एमालेको माग छ। उता नगरप्रमुख गोपाल हमालले भने यसबारे शिक्षकसंग कारण माग गरेको बताए।

clock सोमबार ०४, बैशाख २०८० १७:३९

प्रतिक्रिया