मन्त्रिपरिषद्‌लाई आइतबार पूर्णता दिने प्रधानमन्त्रीको तयारी

  शनिबार ०२, बैशाख २०८० १५:५१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। यसअघि उनले सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले पूर्णता पाउन सकेको छैन। अझै ६ मन्त्रालय रिक्त छन्।

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र  नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन्। 

तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएको छ।

आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ। यसअघि एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन्।

बिहानको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत यी दलका नेताहरु सहभागी थिए।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए।  

clock शनिबार ०२, बैशाख २०८० १५:५१

प्रतिक्रिया