राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

  शुक्रबार ०१, बैशाख २०८० ०८:२१

काठमाडौँ । आज (शुक्रबार) बाट विक्रम सम्वत २०८० सुरु भएको छ। १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै  राष्ट्रपति पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

उनले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका हुन्।

शुभकामना सन्देशमा भनिएको छ, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ।” यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्।

उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्। यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।

नयाँ वर्ष-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।”

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, “बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ।”

उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।

clock शुक्रबार ०१, बैशाख २०८० ०८:२१

प्रतिक्रिया