राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिहृन, पहिलोमा एमालेको सूर्य

  सोमबार ०२, पुष २०८० ०६:४९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिहृन प्रदान गरेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचनका लागि दर्ता हुन आएका दलहरूलाई क्रम निर्धारण गरी निर्वाचन चिहृन प्रदान गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसपटक १२ राजनीतिक दलले दर्ता गराएका छन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिहृन प्रदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले दिएको चिहृनअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को सूर्य पहिलो नम्बरमा रहँदा नेपाली कांग्रेसको रूख दोस्रो नम्बरमा रहेको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गोलाकारभित्र हँसिया हथौडा चिन्ह तेस्रो नम्बरमा रहेको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो), जनता समाजवादी पार्टी, नेपाल (ढल्केको छाता), जनमत पार्टी (लाउड स्पिकर), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) (कलम), नागरिक उन्मुक्ति पार्टी (सादा ढकिया), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (साइकल), नेपाल मजदुर किसान पार्टी (मादल), राष्ट्रिय जनमोर्चा (गिलास) र नेपाल समाजवादी पार्टीलाई खुलेको एक आँखा चुनाव चिहृन प्रदान गरिएको आयोगले जनाएको छ ।

राष्ट्रियसभामा रहेका ५९ मध्ये आगामी फागुन २० गते एकतिहाइ सांसदको पदावधि सकिँदै छ । संविधानतः यसरी पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । कानुनको यही व्यवस्थाका कारण सरकारले माघ ११ गते निर्वाचन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

को-को हुँदै छन् बिदा
राष्ट्रियसभा ५९ सदस्यीय हुन्छ । सातवटा प्रदेशबाट प्रत्येक प्रदेशबाट आठरआठ जनाका दरले निर्वाचित हुन्छन् भने तीनजना राष्ट्रपतिबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभालाई स्थायी सदनको रूपमा लिइने भएकाले दुईरदुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रियसभाको चुनाव पहिलोपटक २०७४ सालमा भएको थियो । पहिलोपटक निर्वाचित भएकाहरूलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरू बिदा भएर नयाँ आइसके । अब ६ वर्षे कार्यकालको गोला तानेकाहरू फागुन २० गतेबाट बिदा हुनेछन् । बिदा हुनेमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका चार माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र दुईजना छन् ।

एमालेबाट निर्वाचित हुनुभएका राष्ट्रियसभा अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिँदै छ । कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि फागुन २० मा सकिने छ । माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल सकिँदै छ । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि कार्यकाल २० फागुनमा सकिनेछ ।

clock सोमबार ०२, पुष २०८० ०६:४९

प्रतिक्रिया