महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु भएको छ । उपकरणहरू जडान भएको लामो समयपछि शुक्रबारदेखि उक्त सेवा सुरु भएको हो । स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेपछि डायलसिस सेवा सुरु भएको छ ।
शुक्रबार पहिलो दिन कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशीले सेवा लिएका छन् । तीन वर्षदेखि मिर्गौला बिरामी उनी कैलालीको धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका थिए ।
महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि जोशी निकै खुसी भएका छन् । धनगढी आउने जाने झन्झट अनि पालो कुर्नुपर्ने बाध्यता लगायतले निकै सास्ती पाउने उनलाई अब भने केही सहज हुने लागेको छ । डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा। अर्जुन भट्टले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताए । उनका अनुसार सूचीकृत भएपछि दैनिक ५ जनालाई सेवा दिन सकिन्छ । एक पटक डायलसिस गर्न कम्तीमा ४ घण्टा समय लाग्छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा। जुजुराज श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डा। खगेश्वर गेलालले डायलसिस सेवाका लागि जडान गरिएको उपकरण लगायत भौतिक अवस्थाको अनुगमन गरेका हुन् । श्रेष्ठ र गेलालकै उपस्थितिमा शुक्रबार एक जनाको डायलसिस पनि गरिएको हो ।
पहिलो दिन एक जनालाई मात्रै सेवा दिइए पनि आइतबारदेखि दुई जनालाई बोलाइएको उनले बताए । अहिले यहाँका मिर्गौला रोगीहरू डायलसिसका लागि धनगढी वा सीमावर्ती भारतीय बजारतर्फ जानुपर्ने बाध्यता छ । अहिले डायलसिस गराउनेको संख्या ४० भन्दा बढी छ । सेती प्रादेशिक अस्पतालमा डायलसिसका लागि भीड लाग्ने गरेका कारण पालो पाउनै मुस्किल हुने गरेको बिरामीहरू बताउँछन् ।
प्रतिक्रिया