कैलालीको मोहन्यालका दर्जनौँ बस्ती अझै अन्धकारमा, विद्युत् विस्तारमा ढिलाइ
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली जिल्लामा अझै पनि विद्युत् सेवाबाट वञ्चित गाउँबस्ती रहेका छन् । जिल्लाको मोहन्याल गाउँपालिकाका दर्जनौँ बस्तीमा आजसम्म पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेको हो । आधारभूत सेवा नै नपुग्दा यहाँका स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।
चिसापानीबाट करिब ६ किलोमिटर दूरीमा रहेको मोहन्याल गाउँपालिका–७ का राजकाँडा, धुलिकोट, जुतेसुली, मालचाना, बासगैरीलगायतका बस्तीहरू अझै अन्धकारमै छन् । मुख्य राजमार्ग नजिकै रहेका यी बस्तीमा विद्युत् सेवा नपुग्नुले राज्यको विकास योजना र कार्यान्वयनप्रति स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन् ।
विद्युत् अभावका कारण सबैभन्दा बढी असर बालबालिकाको शिक्षामा परेको स्थानीय भरत खत्रीले गुनासो गरे । उनका अनुसार साँझपख पढ्न नसक्ने अवस्था, मोबाइल चार्ज गर्न समस्या, खानेपानीका पम्प सञ्चालन गर्न नसक्नु र साना व्यवसाय चलाउन कठिनाइ हुँदा यहाँको जनजीवन झन् कठिन बन्दै गएको छ । “देशभर उज्यालोको चर्चा छ, तर हामी भने अन्धकारमै बस्न बाध्य छौँ,” उनले भने ।
बसाइँसराइ बढ्दै गएसँगै बस्ती विस्तार भइरहे पनि आधारभूत सेवाको पहुँच नपुग्दा स्थानीय थप समस्यामा परेका छन् । विकासको मूलधारबाट टाढिँदै गएको महसुस यहाँका नागरिकले गरिरहेका छन् । स्थानीय राजेन्द्र मुडभरीले यहाँ बसोबास गरेको करिब एक सय वर्ष पुगिसकेको बताउँदै अन्य क्षेत्रको तुलनामा मोहन्यालमा विकास निकै पछाडि परेको गुनासो गरे ।
यता, विद्युत् कार्यालयले भने पहिलो चरणको काम सुरु भइसकेको दाबी गरेको छ । लम्की बजारबाट मोहन्यालको राजकाँडासम्म करिब १६ किलोमिटर दूरीमा विद्युत् लाइन विस्तार गर्ने योजना अनुसार हाल ८० लाख रुपैयाँको बजेटमा ४ किलोमिटर क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भएको लम्की विद्युत् सब–स्टेसनले जनाएको छ । लम्की विद्युत् सब–स्टेसन प्रमुख कमल न्यौपानेका अनुसार माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्न थप बजेट माग भइसकेको छ । बजेट सुनिश्चित भएपछि बाँकी क्षेत्रमा पनि काम तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ ।
तर, स्थानीय बासिन्दा भने वर्षौँदेखि विद्युत् आउने आशामै बसेका छन् । मुख्य राजमार्गबाट केही मिनेटको दूरीमा रहेका गाउँहरू अझै पनि अन्धकारमा रहनु राज्यको योजना र कार्यान्वयनबीचको खाडलको उदाहरण भएको उनीहरूको भनाइ छ । देशले उत्पादन गरेको विद्युत् विदेश निर्यात गरेर आम्दानी गर्ने चर्चा भइरहँदा आफ्नै गाउँमा बल्ब बाल्न नपाउनु विडम्बनापूर्ण भएको स्थानीयको गुनासो छ । स्थानीयले विद्युत् विस्तारको कामलाई प्राथमिकतामा राखी छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया