प्रहरीले आफ्नो गरिमा कायम राख्नुपर्छ ः मुख्यमन्त्री शाह

  मङ्गलबार ३०, असोज २०८० १६:५९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको बताउनु भयो ।

उहाँले प्रदेशको दूरदराजमा रहेका प्रहरीको व्यवस्थापनमा प्रदेश सरकारसहित सरोकारवाला सबै निकाय चुकेको बताउनु भयो । शान्ति, सुरक्षा कायमका लागि कुनाकन्दरामा खटेका प्रहरीले विभिन्न समस्या भोगिरहेको मुख्यमन्त्री शाहको भनाई छ ।

उहाँले नेपाल प्रहरीलाई प्रदेश सरकारले स्रोत, साधनले भ्याएसम्म प्रहरीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । 
विगतमा धेरै समस्या थिए र अहिले पनि भौतिक, प्राविधिकलगायतका समस्या रहेको बताउदै मुख्यमन्त्रि शाहले समस्याका बाबजुद पनि नेपाल प्रहरी जनताको सुरक्षाका लागि अविचलित भएर काम गरिरहेको छ । 

नेपाल प्रहरी आफ्नो स्थापनाकालदेखि नै जनताको जिउज्यानको सुरक्षाका लागि अहोरात्र खटिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनु भयो ।

उहाँले अहिले चाडपर्व आएकाले चाडपर्वलक्षित सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । दिवसको अवसरमा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गरिएको छ । यसैगरी, अमर प्रहरीका परिवारसहित विभिन्न व्यक्तिलाई सम्मानित समेत गरिएको छ । 
 

clock मङ्गलबार ३०, असोज २०८० १६:५९

प्रतिक्रिया