भ्रष्टाचारमा मुछिएका भीमदत्त पूर्व मेयर सुरेन्द्र विष्ट ५ लाख धरौटीमा छुटे

  मङ्गलबार ०५, भदौ २०८० २१:५२

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख सुरेन्द्रबहादुर विष्ट धरौटीमा रिहा भएका छन् । विरुद्ध विशेष अदालतमा मंगलवार भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको हो ।

उनलाई पाँच लाख  रुपैयाँ धरौटी माग गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट पाँच लाख रुपैयाँ धरौटी मागेको हो ।

आदेशलगत्तै धरौटी बुझाएर पूर्व नगरप्रमुख विष्ट तारेखमा बसेका छन् ।   न्यायाधीश शालिग्राम कोइराला र डा. खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो ।

विष्टको मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको छ । आयोगले १० असारमा पूर्व नगरप्रमुख विष्टसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस भएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ ।

आर्थिक वर्ष २०७७र०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानूनी लाभ उठाएको भन्दै अख्तियारले भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख विष्टबाट तीन करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।

यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट पनि धरौटी लिई अदालतले तारेखमा राखेको छ ।

सम्बन्धित शिर्सक
clock मङ्गलबार ०५, भदौ २०८० २१:५२

प्रतिक्रिया