भीमदत्तका पूर्वमेयर सुरेन्द्र विष्ट र दुई हाकिम सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  आइतबार १०, असार २०८० १६:३४

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका दुई तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूबीच आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

भीमदत्त नगरपालिकाले आ.व. २०७७र०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रा.लि. लाई नियम विपरित छुट दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दर्ता गरेको बताइएको छ ।

महाकाली नदीबाट आर्थिक वर्ष २०७७र०७८ मा नदीजन्य वस्तुको राजस्व उठाउने ठेक्कामा मिलेमतो गरी राजस्व चुहावट गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

clock आइतबार १०, असार २०८० १६:३४

प्रतिक्रिया