बैतडीको पाटनमा फैलियो हेपाटाइटिस : १६ जनामा देखियो संक्रमण

  मङ्गलबार १६, साउन २०८० ०९:५२
गाउँमै स्वास्थ्यकर्मी चेक जाच गर्दै

बैतडी । बैतडीमा हेपाटाइटिस फैलिएको छ । जिल्लाको पाटन नगरपालिका ४  चिल्लेपानी गाउँमा हेपाटाईटिस फैलिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । एकै घरका तीन जना बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा भाइरल हेपाटाइटिस देखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

भाइरल हेपाटाइटिस देखिएका तीन जना बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सोमबार ३२ जनामा परीक्षण गर्दा थप १६ जनामा भाइरल हेपाटाइटिस भेटिएको भएपनि उनीहरुमा लक्षण भने देखिएका छैनन् । १० जनामा हेपाटाइटिस ए र ६ जनामा हेपाटाइटिस इ भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

दूषित खानपान, दूषित खानेपानी लगायतको प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गरेको डोबालले बताए । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, जण्डीस हुने, पिसाबमा रगत देखिने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन् । 

बिरामीहरुमा देखिएका लक्षणका आधारमा बिरामीको उपचार गर्ने गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । यो रोगबाट बच्नका लागि शुद्धीकरण गरेको पानीमात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

नगरपालिकाको वडा नं ४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मूहानको पानी परीक्षणका लागि संकलन समेत गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाले संयुक्त रुपमा भाइरल हेपाटाइटिसका बिरामीहरुको खोजी गरिरहेको हो । भाइरल हेपाटाइटिस प्रकोपको रुपमा नफैलियोस भन्नका लागि बिरामीहरुको खोजी गरी उपचार गरिने महराले बताए ।

बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म

बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

स्वास्थ्य कार्यालय बैतडीले चालू आर्थिक वर्षको जेठ र असारमा गरेको नमुना परीक्षणमा अधिकांश खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो। संकलन गरिएको नमुनामध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।

बैतडीमा खानेपानीका मुहान सफा गर्नुपर्ने, पानी शुद्धीकरण गरेर मात्रै पिउन आग्रह गरिएको उनले आग्रह गरे। जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमुना संकलन गरी परिक्षण गरिएको जनाएको छ। परीक्षण गरिएका मध्ये १३६ वटा मुहानको पानी पिउन योग्य छैन । ५०.८ प्रतिशत दुषित छन्।

clock मङ्गलबार १६, साउन २०८० ०९:५२

प्रतिक्रिया