बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली !

  शुक्रबार १२, साउन २०८० १०:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बाहेकका गतिविधिमा पनि आफूलाई सकेसम्म सक्रिय बनाउँछन्। त्यसो त पछिल्लो समय उनले आफूलाई व्यस्त बनाउने खालको राजनीतिक माहौल पनि बनेको छैन।

राजनीतिक माहौलबाट फुर्सदिला बनेका ओलीले बिहीबार साँझ आफ्नो निजी निवास बालकोटमा सांगीतिक माहौल जमेको जानकारी सामाजिक सञ्जालबाट साझा गरेका छन्।

सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै उनले बिहीबार बेलुका आफ्नो निवासमा शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारीसहित गायक शिशिर योगीले सांगीतिक माहौल जमाएको जानकारी दिएका छन्। 

निजी निवास बालकोटबाट ‘शुभ बिहानी’को सन्देश दिँदै ओलीले लेखेका छन्– ‘घरमा हिजो (बिहीबार) बेलुका संयोगवश सांगीतिक माहौल बन्यो। शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो। शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरुलाई धन्यवाद।’

नेकपा एमाले अहिले संघीय संसद्‌मा प्रतिपक्षी दल छ। प्रदेशहरुमा पनि एमाले सरकार बाहिर नै छ। प्रतिनिधि सभा बैठक पनि साउन १५ गते सम्मका लागि स्थगित भएका कारण एमालेका लागि अहिले खासै राजनीतिक ‘बिजनेस’ छैन। 

पार्टीका आन्तरिक गतिविधिहरु पनि त्यति धेरै नभएका कारण ओलीले सांगीतिक माहौल सिर्जना गरेर आफूलाई व्यस्त बनाउनु परेको होला सायद !

clock शुक्रबार १२, साउन २०८० १०:००

प्रतिक्रिया