डेंगुबाट चार जनाको मृत्यु, दैनिक ७५ जना डेङ्गु सङ्क्रमित

  सोमबार ०८, साउन २०८० १०:५१

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैया सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए। सय शैया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए ।

पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत शैया डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको हो । केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गु सङ्क्रमित आउने गरेका छन् ।

डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएकोहो । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० बर्सिया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धा छन् ।

अस्पतालका अनुसार असार २९ गते देखी श्रावण ७ गते सम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो हो । बिपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिसतसम्म सङ्क्रमण देखिएको छ ।

प्रतिष्ठानको इमर्जेन्सीमा वा ओपीडीमा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आईसीयु, इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बिपी प्रतिष्ठानका सह प्रवक्ता डा पोखरेलले बताए ।

स्थानीय सरकार नगर प्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडालाई अभियान सुरु गर्न लागिएको बताए ।

clock सोमबार ०८, साउन २०८० १०:५१

प्रतिक्रिया