सुदूरपश्चिममा बजेटलाई लिएर विवाद : सत्ता पक्षकै दलहरु संशोधन नगरी पारित नगर्ने अडानमा

  मङ्गलबार २६, असार २०८० ०९:५१

धनगढी । आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्तारुढ दलभित्र देखिएको विवाद बढ्दै गएको छ। 

बजेट पारित गरिसक्नुपर्ने समय नजिकिँदा समेत प्रदेश सभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन। असार १ गते बजेट प्रस्तुत गरेपछि सोमबार प्रदेश सभाको बैठक बसेको थियो। सोमबार शोक प्रस्ताव पारित गर्दै प्रदेश सभाको बैठक स्थगित भयो। 

सोमबारको बैठकमा प्रदेश सभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत भएको थियो। शोक प्रस्ताव पारित भएपछि सभामुख भीम बहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगित गरे।   

प्रदेश सभा सचिवालयले यसअघि सोमबारदेखि नै बजेटमा छलफल अगाडि बढाउने गरी तयारी गरिएको जनाएको थियो। सोमबार शोक प्रस्ताव पारित गर्ने मात्रै कार्यसूची तय भएपछि मंगलबारदेखि बजेटमाथि छलफल हुने अपेक्षा गरिएको थियो। तर बजेटका सन्दर्भमा सत्ता गठबन्धनका दलहरु नै एकमत नहुँदा प्रदेश सभाको अर्को बैठक पनि अनिश्चित बनेको छ। 

सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले बजेट यथास्थितिमा पास गर्न नसकिने बताउँदै आएका छन्। आर्थिक मामिलामन्त्री नरेश शाहीकै दल एकीकृत समाजवादीले बजेटप्रति चर्को असन्तुष्टि राख्दै आएको छ। खास गरेर वार्षिक विकास कार्यक्रम र व्यय अनुमानका विषयमा सत्तारुढ दलभित्र असन्तुष्टि देखिएको छ। 

माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको बताएका छन्। बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको दलहरुको भनाइ छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने सामूहिक निर्णय नै गरेका छन्।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षर रहेको निर्णयमा भनिएको छ– ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभूति भएको छ।’

उनीहरुले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्। भनिएको छ– ‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछौं।’ उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन्।

बजेट पारित गर्ने सम्बन्धमा सोमबार गठबन्धनका दलहरुको बैठक बसेको थियो। तर कुनै सहमति नहुँदा बैठक स्थगित भएको नेकप माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। 

मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार फेरि बैठक बसेर सहमति खोजिने जानकारी दिएका छन्। ‘हिजो (सोमबार) को बैठकमा केही सकारात्मक कुराहरु भएका छन्। कसरी जाने भन्नेबारे आज ९मंगलबार० पनि छलफल हुन्छ। हामी (गठबन्धनका दलहरु) आज पनि बस्छौं, छलफल गर्छौं,’ मुख्यमन्त्री शाहले भने। 

clock मङ्गलबार २६, असार २०८० ०९:५१

प्रतिक्रिया