धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि विद्युतीय गाडी हस्तान्तरण

  सोमबार २५, असार २०८० १७:०५

धनगढी । धनगढी उपमहानगरपालिकाले गत वर्षदेखि ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चाल गर्दै आएको छ। सम्वन्धित वडामै विशेषज्ञसहितको टीम पुगेर उपमहानगरपालिकाले विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ। यसका लागि उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफु चढ्ने गाडी नै स्वास्थ्य शाखालाई हस्तान्तरण गरेर यो सेवा सञ्चालनको सुरुवात गरेका थिए। यस्तो सेवा सुरु भएपछि विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता कम भएको छ।

नगर प्रमुख हमालले चुनावी एजेन्डामै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सेवा सुरु गर्ने कार्यक्रम राखेका थिए। उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत वर्षको पहिलो दिनमा नै नगर प्रमुख हमालले सुरु गरेका थिए। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। तत्कालिन मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह समेत गरेका थिए।

‘स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने र सुधार गर्ने हो भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनले ठूलो मद्दत पु¥याउनेछ। प्रदेश सरकार यस्ता प्रभावकारी कार्यक्रममा साझेदारी गर्न तयार छ,’ उनले भनेका थिए। नगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको बताए। ‘आफ्नो कार्यकालको बाँकी चार वर्ष निरन्तर यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालनमा रहनेछ,’ उनले भने, ‘यसलाई उपमहानगरले साझेदारी कार्यक्रम तथा योजनाअन्तर्गत राखेको छ।

सबैको सहयोग पनि चाहिएको छ।’ उनले कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताए। उनका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २÷२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ। ‘खासगरी ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढा छन्,’ हमालले भने, ‘प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा छन्।

यो एक प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ।’ नगर प्रमुख हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि यसअघि नै उपलब्ध गराइसकेको छन्। उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ। वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिको विद्युतीय गाडी नै खरिद गरेर आज स्वास्थ्य शाखालाई हस्तान्तरण समेत गरिएको छ।

१५ सिट क्षमताको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो। विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडावडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। ‘यसअघि नगरप्रमुख ज्युले आफु चढ्ने गाडी उपलब्ध गराएको भए पनि सिट क्षमता कम हुँदा थोरै समस्या थियो। अब १५ सिट क्षमताको विद्युतीय गाडी नै उपलब्ध गराएपछि आजैदेखि वडा नम्बर ८ बाट काम सुरु गरिएको छ।’

clock सोमबार २५, असार २०८० १७:०५

प्रतिक्रिया