स्वतन्त्र नै रहने ‘मूड’मा धनगढीका मेयर गोपाल हमाल

  आइतबार २०, पुष २०८२ १६:०५

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगर, प्रदेशको राजधानी एवं मुख्य व्यावसायिक केन्द्र धनगढीमा गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका गोपाल हमाल के गर्दैछन् ? दलहरुबीच ध्रुवीकरणका बेला पनि राजनीतिक रूपमा लगभग गुमनाम देखिएका मेयर हमालको आगामी कदम के हुन्छ भन्नेमा धेरैको चासो देखिन्छ ।

गम्भीर स्वास्थ्य समस्याबाट तङ्ग्रिएका उपमहानगरका हमालले चार दिनअघि सुदूरपश्चिमको सांस्कृतिक पर्व पुसे पन्ध्रुका दिन सामाजिक सञ्जालमार्फत एउटा भिडियो पोस्ट गरे। उक्त भिडियोमा उनले आगामी निर्वाचनमा राजनीतिक दल र नेताहरूसँग सुदूरपश्चिम प्रदेशको गरिबी न्यूनीकरणका लागि स्पष्ट, ठोस र कार्यान्वयन योग्य रोडम्याप मागेर मात्र मतदान गर्न आग्रह गरेका छन्। हमालको त्यो सन्देश राजनीतिक रूपमा पनि अर्थपूर्ण थियो। उनको राजनीतिप्रतिको दृष्टिकोणमा पनि केही संकेत थियो।

सुदूरपश्चिममा गरिबीको दर बढ्दै जानु अत्यन्तै चिन्ताजनक भएको उनको भनाइ थियो। ‘देशमा राजनीतिक परिवर्तन र शासन प्रणालीमा कैयौं पटक फेरबदल भए पनि सुदूरपश्चिमको विकासको गति अपेक्षित रूपमा अघि बढ्न सकेन,’ मेयर हमालले भनेका छन्, ‘नेपाल जीवनस्तर सर्वेक्षण अनुसार सन् २०१९ मा कर्णालीमा गरिबी दर ३९.५ प्रतिशत रहेकोमा २०२२/२३ मा घटेर २६।६९ प्रतिशत पुगेको छ। तर सोही अवधिमा सुदूरपश्चिममा २५.३ प्रतिशत रहेको गरिबी दर २०२२/२३ मा पुग्दा देशमै सबैभन्दा बढी गरिबी दर ३४.१६ प्रतिशत पुगेको छ ।’

कर्णालीले गरिबी दर घटाउन सक्दा सुदूरपश्चिममा उल्टै गरिबी किन बढ्योरु भनेर उनले प्रश्न पनि गरेका छन् । सोही सन्दर्भ जोड्दै उनले आसन्न निर्वाचनमा राजनीतिक दल र नेताहरूसँग सुदूरपश्चिमको गरिबी न्यूनीकरणको योजनाबारे गम्भीर छलफल, बहस र प्रश्नोत्तर सुरु गर्नुपर्नेमा जोड दिएका थिए। मत माग्न आउने उम्मेदवारसँग गरिबी घटाउने स्पष्ट योजना, निर्धारित समयसीमा र कार्यान्वयनको विस्तृत खाका माग्नु पर्ने उनको भनाइ थियो।

राजनीतिक सरगर्मी बढेका बेला आगामी निर्वाचनमा उम्मेदवार हुनेलाई प्रश्न गर्न भन्दै सुदूरपश्चिमको दीर्घकालीन विकासको सन्दर्भ उठाउनु उनी स्वयं कुनै राजनीतिक दलमा आवद्ध हुँदैनन् कि भन्नेमा धेरैले अर्थ्याएका छन्। राजनीतिक सरगर्मी बढेका बेला मेयर हमाल के गर्दैछन्रु उनको राजनीतिक लाइन कता मोडिन्छरु आसन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र नै रहन्छन् वा कुनै दलमा समाहित भएर अर्को राजनीतिक कदम चाल्छन्रु भन्नेमा सार्वजनिक चासो छ। स्थानीय तहमा स्वतन्त्र निर्वाचित भएका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङले राजनीतिक रूपमा आफ्नो बाटो तय गर्दा, हमालले राजनीतिक टिप्पणीबाट आफूलाई टाढा राखेका छन्।

हमाल पनि कुनै न कुनै दलबाट उम्मेदवार बन्न सक्छन् भन्ने अनुमान चोक र चौतारामा सुनिएका छन्। त्यसैमा हमालसँग नयाँ र पुराना राजनीतिक दलका नेताहरूले विभिन्न चरणमा छलफल पनि नगरेका होइनन्, अझै पनि धेरै दलले उनलाई केन्द्रमै राखेका छन्। गत बुधबार उनलाई भेट्दा सुरुमा उनले औपचारिक रूपमा राजनीतिक प्रतिक्रिया नदिने बताए। ‘म औपचारिक रूपमा राजनीतिक प्रतिक्रिया दिन चाहन्न,’ हमालले भने। उनी आफू नयाँ विकसित राजनीतिमा सन्तुष्ट हुन नसकिरहेको देखिन्थे । ‘सबैलाई पद चाहिएको देखिन्छ, त्यसैका लागि तँछाडमछाड देखिन्छ, जनसेवामा समर्पण भावको अभाव देखिरहेको छु। सबैमा पद प्राप्तिकै तँछाडमछाड कायम रहने हो भने यो देश फेरि पनि बन्दैन,’ उनले भने ।

मेयर निर्वाचित भइसकेपछि आलोचना र विरोधबाट मुक्त नभए पनि उनको अहिलेसम्मको कार्यकालमा भरोसा जगाएको टिप्पणी गर्ने नगरवासीको बाहुल्यता देखिन्छ। उनीबारे अनेकन् अनुमान चलिरहेका भए पनि मेयर हमाल तत्काल कुनै राजनीतिक दलमा हाम नफाल्ने मनस्थितिमा देखिएका छन्। उनी धनगढीको मेयरका रूपमा कार्यकाल पूरा गर्ने सोचमा छन्। ‘धनगढीवासीले मलाई पाँच वर्षका लागि चुनेर पठाएका हुन्, बाँकी कार्यकाल इमान्दारीपूर्वक पूरा गर्नुपर्छ भन्ने अहिलेसम्मको निर्णय हो,’ उनले भने।

मेयर निर्वाचित भएदेखि इमान्दारीपूर्वक जनसेवामा समर्पित भएको दाबी गर्दै हमालले अहिलेको विकृत राजनीतिलाई समाजका असल व्यक्तिहरू मिलेर चिर्नुपर्ने आवश्यकता औँल्याए। उनले सुदूरपश्चिमको अभाव र विपन्नताको मात्रै प्रचार भएको र यहाँका सम्भावना र अवसरको कमै चर्चा हुने गरेको उनले गुनासो गरे। सुदूरपश्चिमलाई पर्यटनबाट समृद्ध बनाउन सकिने सम्भावना औँल्याउँदै उनले आफू धनगढी र सुदूरपश्चिमकै सेवामा समर्पित हुने बताए ।

clock आइतबार २०, पुष २०८२ १६:०५

प्रतिक्रिया