आकाश खुलेपछि किसानलाई धान काट्ने चटारो

  शुक्रबार २४, असोज २०८२ ०९:३०

धनगढी । मौसममा सुधार आएसँगै किसानलाई धान काट्ने चटारो सुरु भएको छ । खेतमा पाकेर झुलिसकेको बर्खे धान बाली प्रतिकूल मौसमका कारण काट्न नपाएका किसान आकाश खुलेपछि धान काट्न सुरु गरेका हुन । यस वर्ष दसैँ सँगै मनसुनी वर्षा भित्रिएपछि किसानहरूले धान काट्न पाएका थिएनन् । सुदूरपश्चिमका तराइका जिल्लामा धान पाकेर पहेलपुर हुँदा पनि काट्न नपाएका किसाहरुलाई घाम लागेपछि भने धान काट्न भ्याइनभ्याइ भएको छ ।

कैलालीको गोदावरी – १ मनेहरका किसान भोला राम चौधरीले यस वर्ष धान पाकेपछि पानी पर्दा धान बाली भित्र्याउन ढिलाइ भएको बताए । करिब २ बिगाहामा धान खेती गरेका उनले बिहीबार देखि मात्रै काट्न सुरु गरेको बताए । ‘धान पाकेर पहेलपुर भएको थियो तर, पानी पर्ने क्रम नरोकिएपछि काट्न सकेनौ’ उनले भने ‘ राम्ररी घाम लागेपछि धान काट्न सुरु गरेका छौ ।’ उनले घाम लागे पनि खेतमा पानी नसुकेका कारण धान काट्न समस्या भएको बताए ।

अर्का किसान रामलाल चौधरीले यस वर्ष पानी परेका कारण धान काट्न निकै ढिलाइ भएको बताए । उनले पाकेको धानको बाला समेत भुईँमा लछारिने अवस्था रहेको बताए । ‘धान पुरै पाकिसकेकाले ढलिसकेको छ’ उनले भने ‘पानी परेका कारण समयमा काट्न सकिएन । अहिले पनि खेतमा पानी जमेकाले काट्न सक्ने अवस्था छैन ।’ उनले एक दुई दिन लगातार घाम लागेमा धान काट्न सहज हुने बताए ।

अर्की किसान फुलमती चौधरीले भने काटेको धान भिजेर खत्तम भएको बताइन । उनले पानी पर्दैन होला भनेर काटेको धान भिजेको बताइन । ‘अस्ति नै पानी पर्दैन होला भनेर धान काटेको धान काटेपछि पानी परेर पुरै भिज्यो’ उनले भनिन् ‘घाम लागेपछि सुकाएकी छु । अब कस्तो हुन्छ हेरौँ ।’

मनसुनी वर्षाले नेपालका मध्य तथा पूर्वी क्षेत्रमा ठुलो वर्षा भएर धनजनको समेत ठुलो क्षति पुगेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने पानी परेको थिएन । तर, आकाश बादलले ढाकिएको र सरकारले २० गते सम्म धान नकाट्न सूचना नै जारी गरेका कारण किसानले धान काट्न पाएका थिएनन् । असोज २० गते साँझ पुनः सुदूरपश्चिममा ठुलो पानी परेपछि किसानले धान काट्न रोकिएका थिए । २१ र २२ गते पनि मौसम सफा नभएपछि धान काट्न नपाएका किसानले बिहीबार आकाश सफा भएपछि धमाधम धान काट्न सुरु गरेका छन् ।

कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा उन्नत बिउ र प्रविधिको प्रयोगले धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको छ ।

clock शुक्रबार २४, असोज २०८२ ०९:३०

प्रतिक्रिया