वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।
सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन्। साथै उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन्।
''वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ'', उनले भने, ''सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ।''
सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे। अध्यक्ष महराले भने, ''सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुनेछौँ।'' सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।
प्रतिक्रिया