‘देखिस् तेरो पतन !’ भन्दै जलिरहेको सिंहदरबारअघि कैलालीकी रक्षा बमको विजयी पोज

  बिहिबार २३, असोज २०८२ १०:४६

काठमाडौं । चर्चित जेनजी अभियन्ता रक्षा बमले गत भदौ २४ गते सिंहदरबार जलाइँदा अगाडि बसेर खुसी मनाएको पाइएको छ । जलिरहेको सिंहदरबार अगाडि ‘विजयी पोज’ मा खिचाएको तस्बिर उनी स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

तस्बिरमा बमले सिंहदरबारको पश्चिम गेट अगाडि दुवै हात माथि उठाएर खुसी मनाइरहेको देखिन्छ भने गेट पछाडिबाट धुवाँको मुस्लो उडिरहेको छ । तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्– ‘हाम्रो खुन बगाइस्, देखिस् तेरो पतन !’

यो तस्बिरलाई लिएर विवादित बनेपछि बमले हिजो भिडिओ सन्देशमार्फत आफ्नो भनाइ राखेकी छन् । सिंहदरबार जल्दा खुसी अनुभूति गरेको स्वीकार्दै उनले यसका लागि कारबाही भोग्नुपरे तयार रहेको बताइन् ।

तस्बिरबारे बमको प्रष्टीकरण यस्तो छ ?

सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोशमा हामी सेप्टेम्बर ९ मा सडकमा उत्रिएका थियौँ । प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौँ । त्यस बेला ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो । सिंहदरबार राज्यको प्रतीक भएको हिसाबले बिम्बस्वरुप मैले ‘हामीले जित्यौँ’ भनेर जितको खुसी मनाएर फोटो राखेको थिएँ । त्यस बेला सिंहदरबारको गेट जलिरहेको थियो । म आक्रोशित थिएँ । एक किसिमको जितजस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो ।

यदि यसलाई तपाईँले राजनीतिक दृष्टिकोणले हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ । जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ । गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ । म के भन्न चाहन्छु भने फौजदारी अभियोग लाग्ने कसुरमा कारबाही गर्न सरकार तयार हुनुपर्छ । सुरुवात मबाटै हुनुपर्ने हो भने म पनि तयार छु ।’

clock बिहिबार २३, असोज २०८२ १०:४६

प्रतिक्रिया