सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो क्रममा, नियन्त्रणमा चुनौती
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा रेबिज सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा सङ्कलन गरिएका १७० नमूनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ। प्रयोगशालाले आव २०७६/७७ बाट सर्भिलेन्स सुरु गर्दा सुरुमा दुई नमूना मात्र पोजेटिभ पाइएकोमा २०८०/८१ मा १५७ र चालु वर्षमा १३६ पोजेटिभ देखिनुले यो रोगको चुनौती उच्च रहेको देखाउँछ।
सुदूरपश्चिमका जिल्लाहरूमध्ये कैलालीमा सङ्क्रमण सबैभन्दा बढी भेटिएको छ, जहाँ ९८ नमूनामध्ये ७८ मा रेबिज पोजेटिभ पाइएको थियो। त्यसपछि कञ्चनपुरमा ४३ र डोटीमा ६ नमूना पोजेटिभ देखिएका छन्।
परीक्षण गरिएका जनावरहरूमध्ये रेबिज फैलाउनमा कुकुरको मुख्य भूमिका देखिएको छस ८७ कुकुरका नमूनामध्ये ७२ मा रेबिजको सङ्क्रमण पाइएको छ। कुकुरबाहेक भैँसी, गाईगोरु, बाख्रा, बङ्गुर र घोडामा पनि रेबिज पुष्टि भएको छ। चिकित्सक जोशीका अनुसार, यो रोग जङ्गली जनावर ९स्याल, ब्वाँसो, फ्याउरो० बाट घरपालुवा कुकुरलगायतमा सर्छ र टोकाइमार्फत मानिस तथा अन्य घरपालुवा जनावरमा सर्न सक्छ।
रेबिजको लक्षण देखिएपछि उपचार सम्भव नहुने र मृत्यु निश्चित हुने भएकाले वरिष्ठ पशु चिकित्सक जोशीले रोकथाममै जोड दिनुपर्ने बताएका छन्। सङ्क्रमित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गरी जतिसक्दो चाँडो 'एन्टी रेबिज भ्याक्सिन' लगाउनुपर्छ। रेबिजका लक्षणहरूमा पानी पिउन मन नलाग्ने , स्मरण शक्ति हराउने, र ज्वरो आउनेलगायत पर्दछन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यू) का अनुसार, हरेक वर्ष विश्वमा करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसमध्ये ९५ प्रतिशत अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन्। डब्ल्यू ले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा भने हरेक वर्ष करिब एक लाखभन्दा बढी मानिसलाई जनावरले टोक्ने गरेको र १५ देखि ३६ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ।
सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके रेबिज नियन्त्रण सम्भव हुने बताउँदै जोशीले विश्व रेबिज दिवस २०२५ का अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको जानकारी दिएका छन्।
प्रतिक्रिया