विद्युत नहुँदा मेलौलीमा तीन हप्तादेखी एक्सरे सेवा बन्द

  शनिबार ०२, असार २०८० १२:४८

बैतडी । तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द भएको छ।  यहाँ गएको तीन हप्तादेखि एक्सरे सेवा बन्द भएको हो। 

मेलौली नगरक्षेत्रमा गएको तीनहप्तादेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यसको असर स्वास्थ्य केन्द्रमा पनि परेको हो।  मेलौलीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुन सकेको छैन्।  स्थानीय सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाबाट आउने बिजुलीले तीन हप्तादेखि अवरुद्ध छ। परियोजनाको ट्रान्सफर्मरमा  आगलागी  हुँदा सेवा अवरुद्ध रहेको हो। 

विद्युत नहुँदा नै एक्सरे सेवा बन्द भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डा। सन्जिन केसीले बताए। विद्युत अवरुद्ध भएकै कारण एक्सरे लगायत विद्युतीय माध्यमबाट उपचार गरिने सबै सेवाहरू प्रभावित भएका छन्।

उनले भने, ‘ विद्युत अवरुद्धका कारण बिरामीहरूलाई सेवा दिन समस्या भएको छ्,हामीसँग भएको सोलारले लोड धान्न नसकेपछि एक्सरे सेवा पनि बन्द रहेको छ।’ 

एक्सरे सेवा लिनकै लागि टाढा टाढाबाट आएका बिरामीहरू सो सेवा बन्द हुँदा समस्यामा परेका छन्।  खुट्टामा चोट लागेर आएकी शिवनाथकी कस्तुरा धनाडी एक्सरे नगरेरै फर्किएकी छिन्।  उनले भनिन्, ‘खुट्टामा चोट लागेर एक्सरे गर्न स्वास्थ्य केन्द्र आएकी हुँ तर  एक्सरे नगरेरै सामान्य औषधि लिएर घर फर्किए। डाक्टर साहेबले औषधिले ठिक नभए अन्त जानुहोला भन्नुभएको छ।’

यस्तै शिवनाथकै प्रमल सिंह साउँद पनि छोरीको हातमा चोट लागेपछि एक्सरे गराउन स्वास्थ्यकेन्द्र पुगे। तर एक्सरे सेवा बन्द हुँदा सामान्य औषधि लिदैं फर्किए।  

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५(६ जना एक्सरे गर्नका लागि आउने गरेका छन्। तर एक्सरे सेवा बन्द हुँदा यहाँ आउने बिरामीहरू सदरमुकाम,पाटन, डडेल्धुरा जान बाध्य भएका छन्। 

विद्युत वितरण गरिरहेको सुर्नयागाढ चौथो लघुजलविद्युत  परियोजना कोषाध्यक्ष जगतसिंह विष्टले हावाहुरी तथा चट्याङले ट्रान्सफर्मरमा आगलागी हुँदा विद्युत अवरुद्ध भएको र केही दिनमै सुचारु हुने बताए।   उनले भने,’ चट्याङले ट्रान्सफर्मरमा  आगलागी  भएको हो। आगलागीबाट बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि धनगढी पठाएको छौं। केहि दिनमा विद्युत सेवा सुचारु हुन्छ।’ 

clock शनिबार ०२, असार २०८० १२:४८

प्रतिक्रिया