सुदूरपश्चिम प्रदेश सभाको ‘लोगो’ संशोधन गरिने

  आइतबार २८, जेठ २०८० १०:१९

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो वर्षको नयाँ कार्यकाल शुरु भएसंगै प्रदेश सभाको ‘लोगो’ संशोधन गर्ने भएको छ । प्रदेश सभाको प्रथम कार्यकालमा निर्माण भएको सभाको ‘लोगो’ संशोधन गरिने भएको हो ।

आइतबार बसेको प्रदेश सभाको नवौ बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको लोगो संशोधन गर्न समिति गठन गरिएको जानकारी दिए । भण्डारीका अनुसार नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सो समितिमा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल, नेकपा एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमा विष्ट र स्वतन्त्र तारा जोशीलाई सदस्यमा राखिएको छ ।

सो समितिले प्रथम कार्यकालमा निर्माण भएको लोगोलाई पुनः संशोधन गर्न राय सुझाव लिने जनाइएको छ ।

प्रथम कार्यकालमा बनेको प्रदेशको लोगोको माथिपट्टी रहेको नेपालको झण्डा, झण्डाको मुनी रहेको निलो र सेतो रंगको हिमाल, मध्यभागमा रहेको हरियो रंगको पहाड, तलपट्टी समतल फाँट, राष्ट्रिय झण्डाको दायाँ र बायाँतर्फ नौ वटा लालीगुँरास, अग्रभागमा प्रदेशको नक्सा, नक्साको तलपट्टी सुनौलो रंगको क्रस धानको बाला अंकित गरिएको थियो ।

प्रदेश सभामा बनेको लोगोमा नक्सामा त्रुटी रहेको थियो । सो समितिले पुरानै लोगोमा नक्सा सच्याउने वा थप नयाँ कुरा राखेर जारी गर्ने निर्णय गर्ने छ ।

clock आइतबार २८, जेठ २०८० १०:१९

प्रतिक्रिया