कैलारीको लोहरपुरमा भजहर कप फुटबल प्रतियोगिता हुँदै
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८, लोहारपुरमा थारु साँस्कृतिक पाँचौ बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । युवा जनहित क्लबको अयोजनामा यही बैशाख १७ गतेदेखि २४ गतेसम्म खेलकुद प्रतियोगिता हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोकपर्व तथा संस्कृति संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष कालुराम चौधरी बताए । उनले फुटबल प्रतियोगिता सँगै थारु समुदायका परम्परागत खेलकूद पनि आयोजना गर्ने बताए ।
उपाध्यक्ष चौधरीका अनुसार फुटबल प्रतियोगिताका साथै थारु समुदायका महिलाको छुर, डेल्वा दौड, टाँरा चिरौवर, कबड्डी, कुइली दिदी तथा पुरुष डेगा दौड लगायतको प्रतियोगिता राख्ने बताए । आयोजक क्लबका अनुसार फुटबल प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । फुटबल प्रतियोगिता १६ वटा टिमको सहभागिता रहने जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रवर्धक निसर्ग हस्पिटल रहेको छ र भने कैलारी गाउँपालिका प्रवर्धकका रुपमा रहेको छ । थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन रहेको छ । गाउँभन्दा केही पर रुखको छहारीमुनि रमाइलो गर्दै यो पूजा गरिन्छ । यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबच्चा सुखीखुसी रहून्, गोरु, गाई, भैँसी र राँगालाई रोगव्याधिले नसमातोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको छ ।
प्रतिक्रिया