सुदूरपश्चिम घर भएकी टीकटक स्टार मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे मुख खोलिन्

  बिहिबार १२, बैशाख २०८२ २१:२६

धनगढी । मिस पबी उपनामले परिचित पवित्रा साकीले पहिलोपटक आफ्नो डिभोर्सको विषयमा मुख खोलेकी छन् । ९ वर्षअघि नै विवाह डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् । केही समयदेखि मिस पबीको निजी जीवनका विषयमा विभिन्न गाईंगुईंहरु चल्ने गरेका थिए । उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा लिक भएको थियो । तर, यो विषयमा मिस पबीले यसलाई अस्वीकार गर्दै आएकी थिइन् । धेरैले उनलाई अविवाहित युवतीकै रुपमा चिन्छन् । गत वर्ष एउटा युट्युब च्यानललाई दिएको अन्तरवार्तामा उनले आफ्नो विवाह नभएको, बरु एकजना ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन् ।

अन्ततः मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् । यो कानूनतः बालविवाह थियो । नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

डिभोर्सको कारणबारे उनले केही बोलेकी छैनन् । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा उनी निकै भावविव्हल बनिन् । सो अन्तरवार्तामा उनीसँगै कमेडियन पवन खतिवडा म्याकुरी पनि थिए । म्याकुरी पनि डिभोर्सी कलाकार हुन् । पछिल्लो समयमा उनीहरुले टिभी रियालिटी शो कमेडी दरबारमा सहकार्य गरिरहेका छन् ।

आफ्नो विवाह र डिभोर्सको बारेमा मिस पबी यसो भन्छिन्ः

मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको थिएन । सबै इलिगल कुराहरू हो । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन । केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ ।

विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । डिभोर्स भयो भनेर त्यसमै रोई कराइ गरिरहने कुरा आएन । त्यहाँबाट अगाडि बढ्नु नै पर्छ ।

clock बिहिबार १२, बैशाख २०८२ २१:२६

प्रतिक्रिया