डोटीमा ब्लड बैङ्क स्थापनाको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र

  मङ्गलबार १०, बैशाख २०८२ ०७:१७

डोटी । डोटीमा ‘ब्लड बैंक स्थापना’ गरिदिन माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का वडाध्यक्ष नरेश मलासीले ब्लड बैङ्क स्थापना गरिदिन दिनुहुन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

सोमवार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा डोटीबासीले रगतको अभाव झेलिरहेकाले आगामी आर्थिक वर्षभित्रै ब्लड बैङ्क स्थापना गरिदिन आग्रह गरिएको छ ।

डोटीसँगै अछाम, बाजुरा र डडेल्धुरा जिल्ला समेत प्रत्यक्ष लाभान्वित हुने गरी ब्लड बैङ्कको स्थापनाका लागि आगामी बजेटमा व्यवस्था गरिदिन ज्ञापन पत्रमार्फत माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘आवश्यक जनशक्ति सहित सुविधायुक्त ब्लड बैंक स्थापना गरिदिन हुन माग गर्दछु ।’

सुत्केरी महिलाको शल्यक्रिया गर्दा रगत चाहिने अवस्था भएमा, आकस्मिक दुर्घटना हुँदा र रक्त अल्पताका बिरामीहरूका लागि रगतको आवश्यकता परेमा सहजै नपाइने समस्या रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

ऐतिहासिक राणाकालीन गौणा हुँदै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको जिल्ला संघीयतामा जाँदा राजधानी कैलाली सरेपछि विकासमा पनि पछाडि पर्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष मलासीले डोटी लगायत आसपासका जनताको स्वास्थ्य समस्यालाई ध्यानमा राखी सरकारले ब्लड बैङ्क स्थापना गर्ने विश्वास गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले ज्ञापन पत्र तत्कालै मन्त्री ज्यू समक्ष पुग्ने गरी पठाईने बताए । उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि एकल प्रयास नभई तीन तहका सरकार र सरोकारवाला सबैले एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २०६३ सालदेखि आपत्कालीन रक्त सञ्चार सेवा सेवा दिँदै आएको भए पनि ब्लड बैङ्क भने छैन । आवश्यक प्राविधिक जनशक्ति, उपकरण अभावले रगत भण्डारण गर्न समस्या रहेको छ ।

clock मङ्गलबार १०, बैशाख २०८२ ०७:१७

प्रतिक्रिया