बजेट अभावमा कैलारी गाउँपालिकाको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या

  शुक्रबार २९, चैत २०८१ ०९:१२

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

१५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ । तर पालिकासँग अस्पतालका लागि बजेट छैन । भवन दामी बने पनि अस्पताल व्यवस्थापन गर्न चुनौती रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

मुलुकको प्रत्येक पालिकामा १५ शय्याको अस्पताल सञ्चालन गर्ने नेपाल सरकारको नीति अनुरूप २०७० अनुसार २९ गते ठेक्का सम्झौता गरेर वडा नम्बर ५ को बैजपुरमा अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको थियो । भ्याटसहित १८ करोड ५२ लाख रुपियाँमा रोयल कन्स्ट्रक्सन जेभीले अस्पताल बनाएको छ ।

निर्माण कम्पनीले अस्पतालको निर्माणको काम पूरा गरिसकेको छ । तर बजेट नपुगेका कारण गाउँपालिकाले निर्माण कम्पनीलाई तीन करोड चार लाखभन्दा बढी रुपियाँ भुक्तानी दिन बाँकी रहेको छ । निर्माण कम्पनीलाई पूरै भुक्तानी नदिइएकाले कम्पनीले हालसम्म अस्पताल हस्तान्तरण नगरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताए ।

उहाँले अस्पताल भवन तयार भए पनि बजेटको पर्खाइमा रहेको उल्लेख गरे । विशेषज्ञ सेवासहित १५ शय्याको अस्पताल सञ्चालन गर्न एक वर्षमा न्यूनतम पाँच करोड रुपियाँ आवश्यक पर्ने स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ । 

गाउँघरमै अस्पताल सञ्चालन भएमा औषधोपचारमा सहज हुने भन्दै स्थानीयले भने यथाशीघ्र अस्पताल सञ्चालन गर्न माग गरेका छन् । अस्पताल बनेको ठाउँमा यसअघि विद्यालय रहेको थियो । विद्यालय हटाएर बनेको अस्पताल चाँडै सञ्चालनमा आउनुपर्ने स्थानीयको जोड छ । 

कोरोना महाकारीको क्रममा तत्कालीन सर्वोदय आधारभूत विद्यालयलाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिएको थियो । त्यसैमा १५ शय्याको अस्पताल भवन निर्माण गरिएको हो ।

clock शुक्रबार २९, चैत २०८१ ०९:१२

प्रतिक्रिया