दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

  शुक्रबार २९, चैत २०८१ ०७:५४

काँकडभिट्टा । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ ।

प्रसाईंलाई अबको आधा घन्टामा मेची पुल ल्याइने जानकारी आएको उनका दाइ लक्ष्मी प्रसाईंले बताए । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका छन् ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । 

त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

clock शुक्रबार २९, चैत २०८१ ०७:५४

प्रतिक्रिया